सांकेतिक तस्बिरविराटनगर । भिजिट भिसामा कुवेत जान लागेका ४७ महिलालाई भारतबाट फर्काइएको छ ।
भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नेपाल फर्काइएको हो ।
उनीहरू दिल्ली विमानस्थलबाट एनओसीबिनै कुवेत जान लागेका थिए ।
विमानस्थलबाट दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्याइएसकिएको छ ।
दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टोलीले महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार महिलाहरूलाई प्रहरीले काठमाडौँ लैजाँदैछ ।
गृहमन्त्री रमेश लेखकले नियन्त्रणमा भएका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रुपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

























