
विराटनगर । कोशी प्रदेशमा १ वर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ठूलो संख्याका सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेको संख्या २ लाखभन्दा बढी छ ।
आर्थिक वर्ष २०८१–०८२ मा २ लाख १३ हजार ६ सय ९५ वटा सवारीसाधनलाई कारबाही गरिएको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार ट्राफिक नियम उल्लंघनको कसुरमा सवारीसाधनलाई कारबाही गर्दा १६ करोड २९ लाख ७१ हजार ५ सय ५१ रूपैयाँ राजस्व संकलन भएको छ ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको समन्वयमा प्रदेशका १४ वटै जिल्लामा कार्यरत ९६ वटा ट्राफिक इकाईहरूले वर्षभर गरिएका नियमित चेकजाँच, निगरानी र कारबाही अभियानबाट यो परिणाम आएको हो । ट्राफिक नियम पालना गराउन र सडकमा सवारीसाधनको निगरानीका लागि ट्राफिक सक्रियता बढाइएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार कारबाहीमा परेका सवारीसाधनका चालकले मोटरसाइकलको हेलमेटको फिता नबाँध्ने, सिट बेल्ट नलगाउने, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने, सवारी अनुमतिपत्र (लाइसेन्स) नभइ गाडी हाँक्ने, मोबाइल फोन चलाउँदै सवारी सञ्चालन गर्ने, क्षमताभन्दा बढी भार वा यात्रु राख्ने, जथाभावी बाटो काट्ने र ट्राफिक संकेत अवज्ञा गर्नेजस्ता नियमको उल्लंघन गरेका थिए । मोटरसाइकल र स्कुटर चालकहरू प्रायः हेलमेट प्रयोग नगर्ने वा फिता नबाँध्ने प्रवृत्ति देखिने गरेको श्रेष्ठको भनाइ छ ।
सार्वजनिक सवारी सञ्चालकहरूले सिट क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा गाडी चलाउने, ट्राफिक संकेतको बेवास्ता गर्ने र अनधिकृत पार्किङ गर्ने समस्याले ट्राफिक व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ । सवारी नियम उल्लंघनलाई न्यूनीकरण गर्न र कारबाहीलाई पारदर्शी बनाउन ट्राफिक प्रहरीले प्रविधिको प्रयोगलाई तीव्र बनाएको छ ।
कोशी प्रदेशका ९ सय ३२ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ भने झापाको झिलझिले, विराटनगरको दुधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टर (एनपीआर) प्रणालीसहितका क्यामेरा राखिएका छन् । लामो दूरीका र भारतीय नम्बर प्लेट भएका सवारीसाधनको निगरानीका लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एपसहितको चेकजाँच व्यवस्था गरिएको श्रेष्ठले बताए ।
यस्तै, सार्वजनिक सवारीको गति नियमन गर्न २१ स्थानमा टाइम कार्ड इन्ट्री र सवारी कारबाहीलाई पारदर्शी बनाउन टीभीआरएस र ई–चल्लान प्रणाली लागू गरिएको छ । राडरगनद्वारा तीव्र गतिमा चलाइएका गाडीको निगरानी पनि गरिँदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।
यति व्यापक प्रविधि र निगरानीका बाबजुद पनि सवारी नियम उल्लंघन भने बढ्दो अवस्थामा रहेको ट्राफिक प्रहरीको भनाइ छ । नियम उल्लंघनकै कारण दुर्घटना हुँदा कोशी प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा ४ सय १८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ७ सय ११ जना गम्भीर घाइते र ८ हजार ५ सय ३० जना सामान्य घाइते भएका छन् । यी दुर्घटनामध्ये अधिकांशमा चालकको लापरबाही प्रमुख कारण देखिएको छ । ट्राफिक नियम उल्लंघनले मृत्युको जोखिम बढाएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सवारी नियम पालना गराउने मात्रै नभएर सडक प्रयोगकर्तालाई नियमबारे जानकारी दिने सचेतनामूलक कार्यक्रमहरू पनि तीव्र रूपमा सञ्चालन गर्दै आएको छ । आर्थिक वर्षभरि प्रदेशभर २६ हजार २ सय ९३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार कार्यक्रमबाट ६ लाख १६ हजारभन्दा बढी सवारी चालक, सहचालक, विद्यार्थी, अभिभावक र आमनागरिक लाभान्वित भएका छन् ।
तर, नियमबारे जानकारी हुँदाहुँदै पनि धेरैले लापरबाहीपूर्ण तरिकाले सवारीसाधन सञ्चालन गरिरहेकाले दुर्घटनाको दर कम हुन नसकेको ट्रमफिक प्रहरीको भनाइ छ । डीएसपी श्रेष्ठका अनुसार कारबाहीको अवस्थाले पनि ट्राफिक नियमको अवज्ञा कति व्यापक छ भन्ने देखाउँछ । ‘हामी दिनरात सडकमा छौं । नियम पालना गराउन सूचना, शिक्षा र प्रविधि प्रयोग गर्दैछौं । तर, चालक, यात्रु र पैदलयात्री सबै जिम्मेवार नभएसम्म दुर्घटनामा कमी ल्याउन सकिंदैन,’ उनले भने ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले ट्राफिक नियमको पालना नगर्दा मृत्यु निम्तिन्छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताए । ‘एक सेकेण्डको लापरबाहीले ज्यान जान सक्छ । नियम पालना आफ्नै सुरक्षाका लागि हो,’ कार्कीले भने ।
उनका अनुसार कोशी प्रदेशमा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन रोक्न सचेतनामूलक कार्यक्रम, प्रविधिको प्रयोग र दिनहुँ २ सयभन्दा बढी स्थानमा चेकजाँच र कारबाहीमार्फत महत्वपूर्ण पहल गरिरहेको छ । तर, ट्राफिक प्रहरीको एकल प्रयासले मात्रै दुर्घटना रोक्न सकिन्न भन्ने यथार्थ कायम रहेको उनको भनाइ छ ।
सबै सडक प्रयोगकर्ताले जिम्मेवारीपूर्वक ट्राफिक नियमको पालना गरेमा मात्रै अनमोल जीवन बचाउन सकिने बताउँदै डीआईजी कार्कीले भने, ‘ट्राफिक नियम पालना गरौं, सुरक्षित यात्राको संस्कृति बसालौं । नियम उल्लंघनको होइन, जीवन रक्षाको बाटो समातौं ।’

























