
विराटनगर । सुनसरीमा जंगलबाट बस्तीमा पसेको निलगाई भाग्ने हुँदा मरेको छ । उक्त निलगाई हरिनगरा गाउँपालिका–३ गौतमपुरस्थित जंगलबाट बिहीबार बिहान ११ः३० बजेतिर गाउँ पसेको थियो ।
जंगली जनावर निलगाई जंगलबाट बस्तीमा पसेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । निलगाई भएको ठाउँमा पुगेको प्रहरी चौकी गौतमपुरका असई भोलप्रसाद यादव नेतृत्वको टोलीले डिभिजन वन कार्यालय सुनसरीलाई यसका बारेमा जानकारी गराएको थियो ।
वनका कर्मचारीले समाउने क्रममा निलगाई भाग्यो । भाग्ने क्रममा स्थानीय जमाल अन्सारी र सहवाज अन्सारीको घरबीचको टाटीमा च्यापिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
भाग्ने क्रममा २ वटा घरबीचको टाटीमा च्यापिएर निलगाई मरेको उनको भनाइ छ । वन कार्यालयले घटनाको कानुनी प्रक्रिया पूरा गरेर थप अनुसन्धान गरिरहेको छ ।

























