करियर जजलाई प्राथमिकता दिन माग

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १६, शुक्रबार ०६:५१

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले न्यायिक कार्यमा खारिएकाहरुलाई सर्वोच्च तथा उच्च अदालतको न्यायाधीश नियुक्तिमा प्राथामिकता दिन आह्वान गरेकाे छ ।

न्याय परिषदले उच्च अदालतमा रिक्त झण्डै ३० जना न्यायाधीश नियुक्तिका लागि छलफल गरिरहेका बेला फोरमले कानुन व्यवसायीबाट भन्दा करियर जजलाई महत्व दिन माग गरेकाे हाे । नेपालमा न्याय परिषदको संरचनामा राजनीतिक व्यक्तिहरु हावी हुँदा करियरबाट भन्दा कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त हुने क्रम बढ्दो छ।

यस्तो अवस्थामा फोरम उच्च अदालतको न्यायाधीशमा ८० प्रतिशतसम्म जिल्लाबाट ल्याउन सुुझाव फोरमले दिएको  छ । त्यसो गर्न सके मात्रै संविधान, कानून र न्यायका मान्य सिद्धान्तहरुको आधारमा स्वच्छ, निष्पक्ष एवं प्रभावकारी न्याय सम्पादन हुने फोरमका ठरह छ।

न्यायपालिका प्रतिको जन विश्वास अभिवृद्धि गर्नको लागि सक्षम, निष्पक्ष र इमान्दार व्यक्ति मात्र न्यायाधीशको पदमा नियुक्तिको लागि चयन गर्नुपर्ने त्यसका लागि करियर जजलाई प्राथामिकता दिनुपर्ने मत फोरमले अघि सारेको छ।

‘सर्वोच्च अदालत तथा उच्च अदालतका लागि न्यायाधीशको पदमा सिफारिस गर्दा इन्साफको रोहबाट परीक्षित भइसकेका उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरुलाई प्राथमिकता दिई नियुक्ति गर्नु उपयुक्त हुने हुन्छ। जसमा उच्च अदालतको हकमा जिल्ला अदालतका न्यायाधीशहरु मध्येबाट रिक्त संख्याको ८० प्रतिशत सम्म तथा सर्वोच्च अदालतमा रिक्त न्यायाधीशहरुको पदमा यथासक्य उच्च अदालतका न्यायाधीशहरुलाई नै अत्यधिक प्राथमिकता दिई उनीहरुको न्यायिक क्षमताको आधारमा मात्र सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिने नीति अबलम्बन गरिनु पर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ ।

पूर्वन्यायाधीश फोरमले वाइडबढी खरिदमा तत्कालीन पर्यटन मन्त्रलायका सचिव प्रेम राई (हाल अख्तियार प्रमुख)लाई मुद्दा नचलाएको भन्दै विशेष अदालतले गरेको टिप्पणीमाथि पनि चर्चा गरेको छ । फाेरमले राईले आफूले गरेको निर्णयका विषयमा जिम्मेवारी लिन माग गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.