
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले शुक्रबार सूचना जारी गर्दै इच्छुक दलहरूलाई साउन २१ गतेदेखि २७ गतेभित्र आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा दल दर्ताको निवेदन दिन सकिने जनाएको हो । निर्वाचन आयोगकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार आयोगले यसअघि नै उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको छ ।
कार्यतालिका अनुसार उम्मेदवार मनोनयन असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गर्न सकिनेछ । सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ भने असोज २४ गते अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा वा प्रदेशसभाको २०७९ सालको निर्वाचनमा दलहरूले बुझाएको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूले यसपटक उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने आयोगले स्पष्ट पारेको छ।

























