
काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा राष्ट्रसंघको एक प्रमुख अंग आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएका छन् ।
इकोसकको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको हो । राष्ट्रसंघको सदस्य बनेको ७ दशकपछि नेपालले यस्तो उच्च तहको नेतृत्व सम्हाल्न पाएको छ ।
राजदूत थापाले बिहीबार इकोसकको अध्यक्षता ग्रहण गर्दै यसलाई नेपालको लागि ऐतिहासिक क्षण भनेका छन् । उनले नेपालले बहुपक्षीय प्रणालीप्रति देखाउँदै आएको स्थायी प्रतिबद्धता, विकासोन्मुख राष्ट्रहरूको आवाज बुलन्द गर्ने प्रयास र अन्तर्राष्ट्रिय सहयोगमा निभाएको भूमिकाको मान्यता स्वरूप आफू इकोसकको अध्यक्षमा निर्वाचित भएको बताए ।
उनले वर्तमान विश्व गम्भीर बहुआयामिक संकटबाट गुज्रिरहेको उल्लेख गरे । जलवायु परिवर्तनले सिर्जना गरेको अस्तव्यस्तता, पुनः चर्किएको महाशक्ति प्रतिस्पर्धा, आर्थिक अनिश्चितता, बढ्दो असमानता, साइबर जोखिम, मार्गविहीन दिगो विकासको कार्यसूची, मानवअधिकार संकट र विकासशील देशहरूमा वार्षिक ४० खर्ब डलरको वित्त अभाव सबै चुनौतीबीच इकोसकको भूमिका झनै सान्दर्भिक भएको उनको भनाइ थियो ।
पूर्वअध्यक्ष क्यानडाका स्थायी प्रतिनिधि बब रेले समारोहमा थापालाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरे । इकोसक संयुक्त राष्ट्रसंघका ६ मूल अंगमध्ये १ हो । जसको स्थापना ८० वर्षअघि भएको थियो ।
इकोसकले विश्वव्यापी आर्थिक र सामाजिक नीति निर्माणमा नेतृत्व गर्छ, विकाससम्बन्धी राष्ट्रसंघीय एजेन्सीहरूको कार्य समन्वय गर्छ तथा मानवअधिकारदेखि शिक्षा, स्वास्थ्य, वातावरण र लैंगिक समानताजस्ता विषयमा विश्वव्यापी बहस अगाडि बढाउँछ । ५४ सदस्य राष्ट्र रहने इकोसकमा महासभाले क्षेत्रीय सन्तुलनको आधारमा तीन वर्षका लागि सदस्यहरू निर्वाचित गर्छ ।
विकास नीति केन्द्रबाट आउने सिफारिसका आधारमा अल्पविकसित देशलाई स्तरोन्नति दिने निर्णयसमेत यही निकायले लिन्छ । राजदूत थापाले इकोसकलाई ‘हामी सबैको साझा थलो’ भन्दै सबै सदस्य राष्ट्रको समर्पण, सहभागिता र सक्रिय संलग्नता आवश्यक रहेको बताए । उनले आफूले निष्पक्ष, सहभागी र समावेशी नेतृत्व दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
थापासँगै आगामी १ वर्षका लागि ४ उपाध्यक्ष पनि निर्वाचित भएका छन् । अल्जेरियाका अमार बेन्डजामा, स्पेनका हेक्तर गोमेज हर्नान्डेज, डोमिनिक गणतन्त्रका वेलिङ्टन डारिओ बेन्कोसमे कास्टानोस र आर्मेनियाका परुयर होभानिस्यान उपाध्यक्ष निर्वाचित भएका हुन् ।
इकोसकको अध्यक्षता नेपाल निर्वाचित हुनुलाई एउटा कूटनीतिक सफलताका रूपमा हेरिएको छ । यो विश्वस्तरमा नेपालको नेतृत्व क्षमता, विश्वास र भूमिका विस्तार भएको संकेत हो । विश्वको दिगो विकास एजेन्डालाई निष्पक्ष, न्यायपूर्ण र सबैलाई समेट्ने ढंगले अगाडि बढाउने ठूलो जिम्मेवारी नेपालले पाएको छ ।

























