
विराटनगर । झापामा शुक्रबार बिहान स्कुल भ्यान दुर्घटना हुँदा विद्यार्थी बालबालिकासहित १९ जना घाइते भएका छन् ।
पारिजात पब्लिक स्कुलको भ्यान मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मागुरमाडी क्षेत्रबाट विद्यार्थी बोकेर पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको मे १ ज ३१०७ नम्बरको भ्यान बिहान १० बजेतिर दुर्घटनामा परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार दुर्घटनामा परेर घाइते हुनेमध्ये १७ जना बालबालिका छन् । भ्यानका चालक र शिक्षिकासमेत घाइते भएको प्रहरीले जनाएको छ दुर्घटनामा भ्यान चालक मेचीनगर–९ का ४५ वर्षीय गणेश श्रेष्ठ र शिक्षिका अन्दाजी २३ वर्षीया प्रीति शिवा घाइते भएका छन् ।
भ्यान चालक श्रेष्ठको अवस्था मध्यम छ । उनको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । सामान्य अवस्थाकी शिक्षिकालाई आम्दा अस्पताल धुलाबारीबाट थप उपचारका लागि बी एन्ड सी अस्पताल रेफर गरिएको छ ।
दुर्घटनामा मेचीनगर–९ घर भएकी ६ वर्षीया सविस्का राई, ४ वर्षीया समीरा बिशुंखे, १० वर्षीय आदित्य राई, ११ वर्षीया सदीक्षा काफ्ले, सोहित राजवंशी, आयान सुब्बा, अनुराग तामाङ, १२ वर्षीया कृष्पा राई, संयोग बिशुंखे, आयानी विक, ११ वर्षीया प्रनिष राई, ९ वर्षीय समर्पण राई, ६ वर्षीया सुसिता किसान, तानसोना लिम्बू, ७ वर्षीय सेसेहाङ लिम्बू र ९ वर्षीय अंगु बराई मगर घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य छ ।
घाइतेको बिर्तामोडको बी एन्ड सी र धुलाबारीको आम्दान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुल भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर पाण्डव राजवंशी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























