
विराटनगर । सुनसरीको इटहरीमा शुक्रबार साँझ पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१८ डकाहाका ४८ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका चौधरी माछा मार्न भन्दै साँझ ६ः१० बजेतिर पोखरीमा पसेका थिए ।
पोखरीमा डुबेर बेपत्ता भएका उनलाई इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले साँझ ७ः३५ बजेतिर मृत फेला पारेको हो । कानुनी प्रक्रिया पूरा गरी प्रहरीले शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























