
विराटनगर । सुनसरीमा अटो टेम्पोभित्र १ सय २८ किलोग्राम गाँजा फेला परेको छ । केसलिया खोला हुँदै विराटनगरतर्फ आउने भित्री सडक खण्डअन्तर्गत बर्जु गाउँपालिका–३ बाट प्रहरीले शुक्रबार साँझ अटो नियन्त्रणमा लिएको थियो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार प्रहरी चौकी अमडुवाबाट खटिएको टोलीले विराटनगरतर्फ आउँदै गरेको को २ ह १५१४ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले रोक्नसाथ अटो छाडेर चालक फरार भए ।
अटोलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १ सय २८ किलो गाँजा बरामद भएको डीएसपी खतिवडाले बताए । उनका अनुसार ५ वटा जेब्रा झोलाभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको हो ।
बरामद भएको गाँजा र अटोलाई इलाका प्रहरी कार्यालय दुहबीमा लगेर राखिएको छ । फरार भएका चालकको खोजी तीव्र पारेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























