
झापा । वैदेशिक रोजगारीको नाममा भारत पुर्याइएका ७ जना नेपाली किशोरीलाई भारतीय प्रहरीले पश्चिम बंगालको पानीट्यांकी नाकाबाट उद्धार गरेको छ । किशोरीहरूलाई भारत लैजाने २ जना पक्राउ परेका छन् ।
माइती नेपाल कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेका अनुसार शुक्रबार भारतीय प्रहरीले ती किशोरीहरूलाई खोरीबारी प्रहरीको समन्वयमा नियन्त्रणमा लिएको हो । सबै किशोरी संखुवासभा जिल्लाका हुन् । उनीहरुलाई भारत दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ र संखुवासभाको मकालु गाउँपालिका–३ का ६१ वर्षीय जपन गुरुङले त्यहाँ पुर्याएको पाइएको छ ।
उनीहरूले हङकङमा रोजगारी दिने बहानामा किशोरीहरूलाई नेपालबाट काँकडभिट्टा नाका हुँदै भारततर्फ लगेका थिए । त्यसक्रममा आधार कार्डलगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजाँदै गर्दा भारतीय प्रहरीले पक्राउ गरेको हो ।
माइती नेपालको टोली किशोरीहरूलाई फिर्ता ल्याउन शुक्रबार नै पानीट्यांकी पुगे पनि कानुनी प्रक्रिया मिलाउनुपर्ने भन्दै भारतीय प्रहरीले किशोरीहरूलाई खोरीबारी प्रहरी थानामै राखेको घिमिरेले जानकारी दिए । उक्त घटनाबारे नेपालतर्फका सुरक्षा निकायलाई औपचारिक जानकारी भने प्राप्त भइसकेको छैन ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले घटनाबारे आफूहरूले भारतीय पक्षबाट कुनै जानकारी नपाएको जनाएको छ । नेपाल–भारत सीमामा यस प्रकारको मानव तस्करी र किशोरी बेचबिखनका घटना दोहोरिरहेको भन्दै सरोकारवालाले नियमनकारी निकायहरूबीच समन्वय र सीमाक्षेत्रको निगरानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

























