
तेह्रथुम । संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउरालीमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जना बालबालिका छन् ।
संखुवासभाको धर्मदेवी नगरपालिका–९ मूलगाउँबाट झापाको दमकतर्फ जाँदै गरेको बस शनिबार दुर्घटनामा परेको तेह्रथुम प्रहरी प्रमुख डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार बा २ प ७२४४ नम्बरको बस देउराली घुम्तीबाट सडकदेखि करिब १० मिटर तल खसेको थियो ।
दुर्घटनामा धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, ७ वर्षीया असीमित भारती, ९ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतीमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल, ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये सविन विष्टको अवस्था गम्भीर रहेको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अन्य घाइतेको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक धर्मदेवी–६ का खेम महत फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

























