झलनाथले फेरि भने,‘सावित गर्न नसके विद्रोह स्वतः गलत हुनेछ’

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १७, शनिबार १७:१०

काठमाडौं। औचित्य सावित गर्न नसके नेकपा एमालेसँग गरेको विद्रोह स्वतः गलत हुने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।

केही दिनअघि एउटा अन्तरवार्ताका क्रममा खनालले एमाले विभाजन गलत भएको बताएका थिए । खनालको अभिव्यक्तीपछि अध्यक्ष माधवकुमार नेपालले ‘पार्टी छाडेर जान’ भनेका थिए । अध्यक्ष नेपालसँग रुष्ट बनेका खनालले शनिबार पत्रकार सम्मेलन गर्दै एमालेसँग गरेको विद्रोहलाई सावित गर्न नसके स्वत गलत हुने बताएका हुन् ।

उनले विभाजन गलत भन्ने धारणा आफ्नो नभएको बताए । ‘ हामीले विद्रोह गरेको कुरो गलत हो भन्ने मेरो धारणा छैन,’ खनालले भने, ‘तर, हामीले औचित्य सावित गरेनौँ भने, गर्न सकेनौँ भने त्यो स्वतः गलत सिद्ध हुन पुग्छ ।’

उनले एमालेसँग विद्रोह गर्नुको औचित्य सावित हुने गरी वैचारिक, राजनीतिक र सैद्धान्तिक धरातलबाट बहस अगाडि बढाएर आन्दोलनलाई रूपान्तरण गर्नुपर्ने बताए ।

‘हामीले औचित्य सावित हुने गरी वैचारिक, राजनीतिक सैद्धान्तिक धरातलबाट बहस छलफल अगाडि बढाऔँ र आन्दोलनलाई रूपान्तरण गरौँ भन्ने मेरो धारणा हो,’ उनले भने ।

उनले कसैले आफ्नो राजीनामा माग्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने बताए ।

‘विद्रोह गरेर बनाएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपले सुदृढ गर्नुपर्नेछ । यसलाई रूपान्तरित गर्नुपर्ने छ । यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिन’, खनालले भने, ‘मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.