झापा र उदयपुरमा भारी वर्षा

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १८, आइतबार ०९:५२

विराटनगर । झापा र उदयपुरमा भारी वर्षा भएको छ । अविरल वर्षासँगै झापाका विभिन्न स्थान बाढीको जोखिममा परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा १३२ मिलिमिटर वर्षा मापन भएको हो । गत २४ घण्टायताको यो देशभरकै धेरै वर्षा हो ।

लगातार ठूलो वर्षा भएपछि उदयपुरमा जलसतह पनि उल्लेख्य मात्रामा बढेको छ । त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

झापामा भारी वर्षासँगै एसियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिकाभित्रको कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलाको डाइभर्सनमा क्षति पुग्न सक्ने उच्च सम्भावना रहेकाले एसियन हाइवे आयोजनाले समेत आफ्ना कर्मचारी र जेसिभी र स्काइभेटरलाई समेत तयारी अवस्थामा राखेको आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई भूभागका धेरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.