
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनेभामा सम्पन्न सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता सार्थक र उपलब्धिपूर्ण रहेको बताएका छन् ।
सम्मेलनमा भाग लिएर स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको तर्फबाट राखिएको धारणा र गरिएको छलफलले अन्तर्राष्ट्रिय संसदीय सम्बन्धलाई थप सुदृढ बनाएको बताएका हुन् । सभामुख घिमिरेका अनुसार सम्मेलनमा ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसदहरूको भूमिका के हुन सक्छ ?’ भन्ने शीर्षकमा आयोजित प्यानल छलफलमा उनले प्रविधिको प्रभाव, संसदको पारदर्शिता र डिजिटल युगमा कानुन निर्माण संस्थाको भूमिका बारे धारणा राखेका थिए ।
उनले अब संसद कानुन बनाउने थलो मात्र नभई प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्यको नेतृत्वकर्ता बन्नुपर्ने कुरामा जोड दिएका थिए । उनका अनुसार सम्मेलनमा विश्व राजनीतिमा देखिएको द्वन्द्व, असमानता र जलवायु संकटजस्ता विषयमा गम्भीर बहस भएको थियो ।
साथै, विभिन्न देशका सभामुखहरूसँग नेपालको सम्भावित सहकार्य र साझेदारीका अवसरबारे समेत छलफल भएको सभामुख घिमिरेले जानकारी दिए । त्यस्तै, आगामी जनवरी ३० र ३१ मा काठमाडौंमा हुन गइरहेको जलवायुसम्बन्धी अन्तर व्यवस्थापिका सम्मेलनको सन्दर्भमा संयुक्त राष्ट्रसंघ र अन्तर व्यवस्थापिका संघका प्रतिनिधिसँग परामर्शसमेत भएको उनले बताए ।

























