हलेसीबाट तीर्थयात्री बोकेर फर्किएको गाडी दुर्घटना, १७ जना घाइते

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार ११:०९

विराटनगर । प्रशिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किदै गरेको गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छ ।

ट्राफिक प्रहरीका अनुसार चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयराम घाटनजिक दुर्घटनामा परेको हो । हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर १७ जना घाइते भएको र ४ जनाको अवस्था गम्भीर रहेको ट्रापिक प्रहरीले जनाएको छ । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किदै गरेको गाडी दुघटनामा परेको हो ।

स्थानीयको सहयोगमा उद्धार गरेर प्रहरीले घाइतेहरुलाई उपचारका लागि घुर्मी सामुदायिक अस्पताल लगेको छ । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनालगत्तै चालक फरार भएका छन् । फरार रहेका चालकको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घाइते भएकाको नाम खुल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.