मोरङको पथरीशनिश्चरेबाट जरायोको सिङसहित २ जना पक्राउ

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार १३:१२

विराटनगर । मोरङको पथरीशनिश्चरेबाट वन्यजन्तु जरायोको सिङसहित आइतबार साँझ २ जना पक्राउ परेका छन् ।

पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राईलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार विशेष सूचनाका आधारमा निरज गुरुङको घरमा छापा हान्दा ३ वटा जरायोको टाउकोसहितको सिङ फेला परेको थियो ।

चिमरियाले गुरुङको घरबाट ३ जोर (६ वटा) सिङ बरामद भएको छ । गुरुङको घरमा इलाका प्रहरी कार्यालय पथरीका असई गुलजारी यादव नेतृत्वको टोलीले साँझ ५ः५० बजेतिर छापा हानेको थियो । यस विषयमा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सब डिभिजन वन कार्यालय पथरीको जिम्मा लगाएको छ । जरायोको सिङ कहाँबाट ल्याइएको थियो भनेर यकिन भइसकेको छैन । वन कार्यालयले थप अनुसन्धान अघि बढाएको छ ।

सब डिभिजन वन कार्यालय पथरीका सहायक वन अधिकृत कृष्णकुमार चौहानले पक्राउ परेकाविरुद्ध मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने बताए । उनका अनुसार दुवै जनाविरुद्ध वन्यजन्तुको अवैध आखेटोपहार सम्बन्धी मुद्दा चलाउने तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.