
विराटनगर । प्रशिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसी दर्शन गरेका तीर्थयात्री बोकेर फर्किदै गरेको गाडी दुर्घटनामा परेर मृत्यु हुने महिलाको पहिचान खुलेको छ ।
कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतक सिरहाको नहरा गाउँपालिका–३ की अन्दाजी २५–३० वर्षीया ममतादेवी यादव रहेको पत्ता लागेको छ । घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा परेर गाडीमा यात्रा गरिरहेका अन्य १६ जना घाइते भएका छन् ।
घाइतेमध्ये सिराहाको नहरा–५ की ३९ वर्षीया रन्जिता यादव, ७० वर्षीया सुस्मवती यादव, ७० वर्षीय राज यादवलगायतको अवस्था गम्भीर छ । डीएसपी श्रेष्ठले घाइतेमध्ये १० जनालाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको जानकारी दिए ।
त्यसअघि घाइतेहरुलाई उपचारका लागि उदयपुरको घुर्मी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य अवस्थाका अन्य ६ जना घाइतेहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
दुर्घटनालगत्तै चालक सिराहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार भएको प्रहरीले जनाएको छ । फरार रहेका चालकको खोजी तीव्र पारेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौत्या खोलानजिक दुर्घटनामा परेको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको थियो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किदै गरेको गाडी दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
स्थानीयको सहयोगमा उद्धार गरेर प्रहरीले घाइतेहरुलाई उपचारका लागि घुर्मी सामुदायिक अस्पताल लगेको थियो । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

























