कुलिङ पिरियड विवादमा कांग्रेस–एमाले असहमति, दोषी को भन्नेमै अड्कियो संसदीय छानबिन

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार १७:४०

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनका विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ ।

तर, उक्त त्रुटिमा दोषी को हुन् भन्ने निष्कर्ष निस्किन सकेन । यसमा प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच कुरा मिल्न नसकेको हो । छानबिन समितिले निष्कर्षको पहिलो बुँदामा विधेयकमा गम्भीर त्रुटि भएको स्पष्ट उल्लेख गरेको छ ।

उक्त बुँदामा समिति सदस्यहरूबीच पूर्ण सहमति देखिन्छ । तर, दोस्रो र तेस्रो बुँदामा त्रुटिमा संलग्न व्यक्ति को हुन् भन्ने र उनीहरूमाथि कारबाही गर्ने विषयमा भने तीव्र मतभेद देखिएको छ ।

प्रतिपक्षी दलहरूले ‘कुलिङ पिरियड’को विषयमा भएको पूर्वसहमति कार्यान्वयन हुन नसक्नुमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति (कांग्रेस सांसद) रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर गर्नुपर्ने अडान राखेका छन् । तर, कांग्रेसले यस्तो प्रस्ताव मान्न मानेको छैन ।

यता एमाले मुख्यसचिव र संसद् सचिवालयका महासचिवलाई पनि दोषी ठहर गर्ने प्रस्तावसँग सहमत छैन । तर, प्रतिपक्षी दलहरूले यी दुवै उच्च पदस्थ कर्मचारीले निजामती विधेयकको संशोधन प्रक्रियामा पदअनुकूलको आचरण नगरेको ठहर गर्दै स्पष्ट रूपमा उनीहरूलाई दोषीका रूपमा उल्लेख गर्नुपर्ने माग गरेका छन् ।

ठूला दल कांग्रेस र एमालेबीच मत नजुटेपछि नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले तत्कालका लागि छलफल छाडेका छन् । उनीहरूको साझा धारणा अघि सार्न २ दलबीच सहमति आवश्यक रहेको भनिएको छ ।

छानबिन समितिमा कांग्रेसबाट जीवन परियार सभापति छन् भने सांसद सुशीला थिङ सदस्य छन् । एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

छानबिन समितिले काम अन्तिम चरणमा पुर्‍याउँदै गर्दा मुल मुद्दा भने दोष कसको भनेर तोक्ने र कारबाहीको सिफारिस गर्ने बुँदामा पुगेर अड्किएको छ । प्रमुख दलहरूबीच सहमति जुटेन भने समितिको प्रतिवेदन विवादास्पद बन्ने सम्भावना बलियो बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.