
विराटनगर । मोरङको अलगअलग स्थानमा २ जना मृत फेला परेका छन् । उर्लाबारी र बेलबारीका २ जना पुरुष मृत फेला परेका हुन् ।
उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बूको शव मंगलबार बिहान धानखेतमा भेटिएको छ । घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दायाँ नाकाबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा लिम्बूलाई मृत फेला पारिएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
कानुनी प्रक्रिया पूरा गरेर शवलाई घटनास्थलबाट पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव आफ्नै धानखेतमा मृत फेला परेका छन् । उनलाई सोमबार साँझ ६ः३० बजेतिर मृत फेला पारिएको हो ।
धानखेतमा युरिया मल छर्नका लागि भनेर घरबाट हिँडेका उनको शव खेतमै घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ऋषिदेवको पनि मृत्युको कारण खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























