देशभर मनसुन सक्रिय : कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २२, बिहीबार ०६:१५

काठमाडौं । नेपालमा मनसुन सक्रिय रहँदा आज (बिहीबार) बिहानदेखि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आज भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागमा औसत स्थानभन्दा उत्तरतिर रहेको छ ।

हालको अवस्था अनुसार देशभर नै मनसुनको प्रभाव कायम रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । जसका कारण देशको अधिकांश पहाडी क्षेत्रमा सामान्य बदली भएको छ भने अन्य स्थानमा आंशिक बदली छ ।

कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा दिउँसे सामान्यतया बदली रहने र अन्य भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम खालको वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा १–२ स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ । राति देशभर सामान्य बदलीको अवस्था रहने छ ।

कोशी, लुम्बिनी र मधेश प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी क्षेत्रका १–२ स्थानमा राति पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले बाढी, पहिरो र नदीको जलसतह अचानक बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै भारी वर्षाको सम्भावना रहेको कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । यात्रा गर्ने, नदी किनारमा बसोबास गर्ने वा पहाडी भेगमा निर्माण कार्य गरिरहेकाहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.