
काठमाडौं । बारम्बार बढुवामा छुटेका नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक) वीरेन्द्र थापा बल्ल बढुवा सिफारिसमा परेका छन् ।
थापाको नाम बुधबार राति प्रहरी प्रधान कार्यालयले एसपी (प्रहरी उपरीक्षक) बढुवाका लागि एकल सिफारिस गरेको हो । पछिल्लो पटक साउन पहिलो साता एसपी बढुवाको सिफारिस हुँद्या उनी छुटेका थिए ।
त्यतिबेला उनीभन्दा २ वर्ष जुनियरलाई एसपी बढुवाका लागि सिफारिस गरिएको थियो । आफूभन्दा जुनियर बढुवामा पर्दा पनि थापा छुटेका थिए । साउनको पहिलो साता बढुवा सिफारिस भएकाहरुले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।
सोही राति बढुवाका लागि थापालाई एकल सिफारिस गरिएको हो । यसअघि जुनियर बढुवा हुँदा समेत छुटेका थापालाई प्रहरी वृत्त सिंहदरबार पठाइएको थियो । अहिले उनी सिंहदरबारमै कार्यरत छन् ।
२०६१ सालमा इन्स्पेक्टर (प्रहरी निरीक्षक)मा भर्ना भएका थापाका सबै ब्याचीहरु यसअघि नै एसपी भइसकेका छन् । उनी आफ्नो ब्याचका एकल डीएसपी थिए ।

























