
विराटनगर । हुलाकी राजमार्गको मोरङको कटहरी खण्डमा स्थानीयले धान रोपेका छन् । सडक नबनेपछि बिहीबार कटहरी गाउँपालिका–३ का स्थानीयले सडकमा सवारी आवागमन रोकेर सडकको हिलोमा धानको बिउ फालेका हुन् । विरोधमा स्थानीयले करिब एक घण्टा चक्काजाम गरेका थिए ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यस मध्ये हाटखोलादेखि राम चोकसम्म ६ किलोमिटर काम अति सुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पुरा भएको छ ।
२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिड्न नसकिने स्थानीय दिलिप शर्मा बताउँछन् ।
अलपत्र अवस्थामा रहेको हुलाकी सडकको काम अघि बढाउनका लागि मोरङका जनप्रतिनिधिले तीन वर्षअघिदेखि पहल गरेका थिए । एकसाता अघि मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले पुन तत्काल काम अगाडि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
हुलाकी सडकको ६ किलोमिटर खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि भएपनि निर्माण क्षेत्रमा मुख्य ठेकेदार देखिएको छैन ।सुरुमा भुपाल श्रेष्ठले पेटी ठेकेदारको रुपमा काम गरेका थिए । श्रेष्ठ पनि भागेपछि पेटी ठेकेदारको रुपमा अभिषेक गिरी आएका छन् ।
६ वर्षको अवधिमा ठेकेदारले साइड ड्रेन निर्माणको काम पुरा गरेका छैनन । बिजुलीको पोल पनि सारिएको छैन । बर्खापछि बिजुलीको पल सारेर माटो फिलिङ गर्ने तयारी छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार हुलाकी सडकको यो खण्डको ठेक्का २०७६ सालमा ७७ करोडमा ठेक्का लागेको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडकको पटक पटक म्याद थप भएको छ । फेरि म्याद थप गर्ने तयारी छ ।

























