उत्तराखण्डको बाढीमा २२ जनाभन्दा बढी नेपाली बेपत्ता

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार ११:२८

विराटनगर । भारतको उत्तराखण्डको धरालीमा आएको भीषण बाढीमा परेर २२ जनाभन्दा बढी नेपाली बेपत्ता भएका छन् ।

बाढीमा परेर धादिङको ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ बेपत्ता भएका छन् । उनीहरू उत्तराखण्ढमा मजदुरी गर्दै आएका थिए ।

त्योबाहेक बाढी पहिरोमा परेर जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका १ जना गरेर १८ जनाभन्दा धेरै बेपत्ता भएको बताइएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार केही घाइते नेपालीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग खोजी र उद्धारमा समन्वय गरिरहेको जनाएको छ ।

बाढी मंगलबार दिउँसो आएको हो । उक्त बाढीमा परेर सय जनाभन्दा बढी बेपत्ता भएका छन् । ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाढीले उत्तरकाशीको धराली बजारमा सबैभन्दा बढी क्षति पुर्याएको छ । बाढीमा परेका १ सय ९० जनाभन्दा बढीको उद्धार गरिएको छ । उद्धार र खोजलाई तीव्र पारिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बाढीमा बेपत्ता भएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उल्लेख गरिन् ।

‘हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु’ मन्त्री राणाले भनेकी छन् । उनले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.