आरोहीको अनुभव : हिमाल पग्लिँदैछ

Share this
801shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन २३, शुक्रबार १४:५६

विराटनगर । नेपालका हिमशृङ्खलाहरुमा जलवायु परिवर्तनको प्रभाव स्पष्ट देखिन थालेको छ ।

यसको प्रत्यक्ष असरस्वरूप विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरूमा हिउँ पग्लिने क्रम तीव्र भएको छ । विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ)का कारण हिमालहरूको मौलिक स्वरूपमा परिवर्तन आएको विज्ञहरूको भनाइ छ ।

हिउँ पग्लँदा कालो ढुंगाहरू सतहमा देखिन थालेको पनि उनीहरू बताउँछन् । समयमा सचेत नबने दीर्घकालमा नेपालका हिमालहरूको अस्तित्व नै हराउने खतरा बढ्दै गएको आरोहीहरूको चेतावनी छ ।

मुलुकी खबरको ‘हिमालको कुरा’ शृङ्खलामा हामीले ६ जना आरोहीको अनुभव र १ जना कोशी प्रदेश सांसदसँग सगरमाथा तथा अन्य हिमालको अवस्थाबारे चर्चा गरेका थियौं । सबैको एउटै धारणा थियो ‘ग्लोबल वार्मिङ’ (जलवायु परिवर्तन)का कारण सगरमाथासहितका हिमालहरूमा प्रत्यक्ष असर परिरहेको छ ।’

आरोहीहरूका अनुसार, वर्षौंअघि हराएका केही आरोहीका शवसमेत अहिले देखिन थालेका छन् । फेला परेका शव व्यवस्थापन, फोहोर नियन्त्रण तथा संरक्षणका लागि हिमाललाई केही समय ‘आराम’ आवश्यक भएको उनीहरूको मत छ । हामीले आरोहीहरूको यिनै अनुभव र भनाइका आधारमा यो लेख तयार पारेका हौं ।

आशिष गुरुङ, अन्तर्राष्ट्रिय माउन्टेन गाइड

हिमाल यात्राको १७ बर्से अनुभवमा उनले हिमाली वातावरणमा उल्लेखनीय परिवर्तन महसुस गरेको बताए । उनका अनुसार पहिले ७० प्रतिशत हिउँले ढाकिएका ढुंगाहरू अहिले खुला देखिन थालेका छन् ।

उनले अनुभव सुनाउँदै भने, ‘पहिले १ सय मिटर चढेपछि ‘क्लाइम्बिङ’ कपडा लगाउनुपर्ने हुन्थ्यो । अहिले डेढ घण्टा हिँडेपछि मात्र आवश्यक पर्छ ।’ त्यसो त जलवायु परिवर्तनका कारण खुम्बु क्षेत्रमा नयाँ किसिमका स्वास्थ्य समस्या देखिन थालेको उनको भनाइ थियो ।

राज्यको ध्यान गुणस्तरभन्दा पनि आम्दानीमा मात्र केन्द्रित भएको भन्दै उनले आलोचना गरे । विज्ञ र आरोहीहरूको सुझावलाई आधार मानेर राज्यले ठोस कदम चाल्नुपर्ने उनको सुझाव छ ।

जेनजेन लामा, आरोही

उनको अनुभवमा बेसक्याम्प (आधार शिविर)को अवस्था पनि फेरिएको छ । उनी भन्छिन्, ‘पहिले सुविधा थिएन, आत्मीयता थियो । अहिले आधुनिकीकरणले छोएको छ, हिटरजस्ता कृत्रिम कुराले प्रकृतिलाई असर गरेको हुन सक्छ ।’

हिमालसँगको सम्बन्ध पछिल्लो समयमा प्रतिस्पर्धात्मक बन्नुका साथै फोटो खिच्ने, रेकर्ड राख्ने र सगरमाथालाई उपभोग गर्ने मात्र प्रवृत्ति बढेको उनको भनाइ छ । पछिल्ला वर्षमा सगरमाथाले आफ्नै अस्तित्व खोजेजस्तो महसुस हुने उनले सुनाइन् ।

उनले सरकारलाई आग्रह गरिन्, ‘कम्तीमा १ वर्ष सगरमाथा आरोहणको क्रम रोकेर सरसफाइ र व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’

दिक्की शेर्पा, आरोही

सगरमाथामा बढ्दो प्रदूषणले त्यसको स्वरूप हराउँदै गएको अनुभव उनले सुनाइन् । हिमाल आरोहणको दशकभन्दा बढी अनुभवमा उनले सगरमाथासहित अन्य हिमालहरूमा परिवर्तन महसुस गरेकी छिन् ।

सगरमाथाको सन्दर्भमा उनले भनिन्, ‘हजारौँले फोहोर गर्छन् । २५ जनाले सफा गरेर पुग्दैन ।’ जलवायु परिवर्तन, प्रदूषण र भिडका कारण हिमालय क्षेत्र संकटमा परेकोमा उनले चिन्ता व्यक्त गरिन् ।

उनका अनुसार यस्तो अवस्था रहे १०–१५ वर्षपछि हिमाल देख्न गाह्रो पर्न सक्छ । हिमाललाई बचाउन आरोहीले आफ्नो घरझैँ मानेर यात्रा गर्नुपर्ने सुझाव उनले दिइन् ।

फोहोर व्यवस्थापनमा तीनै तहका सरकार संवेदनशील हुनुपर्नेमा उनको जोड छ । उनले थपिन्, ‘आरोहणमा जाँदा दिसा प्याक गरेर फर्काउनुपर्छ । यति मात्रैले पर्याप्त छैन, नीतिगत सुधार गर्दै हिमाल जोगाउन राज्य गम्भीर हुनुपर्छ ।’

लाक्पा शेर्पा, विश्व कीर्तिमानी

पछिल्लो समय हिमाली भेगमा बढ्दो जोखिम र समस्याप्रति सरकारले सजग र गम्भीर भएर कदम चाल्नुपर्ने उनको सुझाव छ । ‘जोखिम मोल्ने शेर्पाहरूको सम्मान उचित क्षतिपूर्तिले मात्र हुन्छ । त्यसले हाम्रो परिवारमा केही आशा जाग्छ,’ उनले भने ।

लाक्पा शेर्पाले २०२२ मा १६ दिनको छोटो अवधिमा ३ पटक मकालु हिमाल सफलतापूर्वक आरोहण गरी ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गरेका थिए ।

कुञ्जाङ शेर्पा, प्रहरी नायब निरीक्षक (सई)

नेपाल प्रहरीकी पहिलो महिला सगरमाथा आरोही उनले २०८२ जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेकी हुन् । आरोहणका क्रममा उनले जलवायु परिवर्तनको प्रत्यक्ष असर अनुभव गरिन् ।

उनका अनुसार हिउँ तुरुन्तै पग्लिएर पानीमा परिणत भएको र पुराना शवहरू सतहमा निस्किएको देखियो । ‘कुनैकुनै ठाउँमा त लास टेकेर जानुपर्ने अवस्था थियो,’ उनले अनुभव सुनाइन् ।

दा लाक्पा शेर्पा, आरोही

उनको अनुभवमा सगरमाथासहित अन्य हिमशृङ्खलाहरू जलवायु परिवर्तनको चपेटामा परेका छन् । उनले बेसक्याम्पभन्दा माथि प्लास्टिकका झोला हिउँसँगै बगिरहेको देखे ।

हिउँ पग्लँदा कालो ढुंगा देखिन थालेको र त्यहाँका वनस्पति तथा जडीबुटी लोप हुने अवस्थामा पुगेको उनले बताए । पर्यटकको चाप बढेकाले समस्या बढेको हुन सक्ने उनले बताए । केही समय आरोहण रोकेर सरसफाइ अभियानमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

गोम्बु शेर्पा, कोशी प्रदेशसभा सदस्य

उनले ग्लोबल वार्मिङका कारण सगरमाथासहितका हिमशृङ्खलामा समस्या आएको स्वीकार गरे । संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले समन्वयकारी भूमिका निर्वाह गरेर यसको समाधानतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।

सगरमाथामा छरिएका लासहरूको व्यवस्थापनमा सरकारले तत्काल ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे । त्यसो त उनले पछिल्लो समय प्रदेशसभाको शून्य समयमा पनि सगरमाथा संरक्षणको विषय उठाइसकेका छन् ।

सगरमाथादेखि मकालु, अन्नपूर्णासम्मका हिमशृङ्खलाहरू जलवायु परिवर्तनको प्रत्यक्ष मारमा छन् । सगरमाथामा हिउँ तीव्र गतिमा पग्लनु, कालो ढुंगाहरू देखिनु, पुराना शवहरू सतहमा आउनु र प्रदूषणको पहाड जम्दै गएको दृश्य आरोहीहरुको आँखाअगाडि छ।

आरोहीहरूको अनुभव, विज्ञहरूको चेतावनी अनुसार यसका लागि यदि अहिले नै ठोस कदम चालिएन भने नेपालका हिमालहरू थप संकटमा पर्न सक्छन् । हिमाल बचाउन सबैले ध्यान दिनुपर्नेमा सरोकारवालाको जोड छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.