न्यायाधीश सिफारिसमा बारको आपत्ति

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार १९:३८

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेकोमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।

परिषद्को बिहीबारको निर्णयप्रति बारले कडा आपत्ति जनाएको हो । बारका महासचिव केदारप्रसाद कोइरालाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त सिफारिसले नेपालको संविधानमा स्थापित समानुपातिक समावेशी राज्यको मर्म र भावनालाई पूर्णतः बेवास्ता गरेको आरोप लगाइएको छ ।

न्यायपालिकाजस्तो महत्त्वपूर्ण अंगमा महिला, भौगोलिक क्षेत्र, वर्ग र समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा त्यसलाई अस्वीकार गरेको बारको भनाइ छ । न्यायपालिकामाथि सबैको समान पहुँच र अपनत्वको भावनामा गम्भीर चोट पुर्याएको बारको ठहर छ ।

विगतका राष्ट्रिय सम्मेलन, सल्लाहकार समिति र केन्द्रीय समिति बैठकहरूमा निरन्तर उठाउँदै आएको अडानको पुनरावृत्ति गर्दै बारले न्याय परिषद्को विभेदलाई प्रश्रय दिने संशोधित नियमावली तत्काल खारेज गर्न माग गरेको छ । साथै, न्यायाधीश नियुक्तिमा पारदर्शी, वस्तुनिष्ठ र पूर्वानुमानयोग्य मापदण्ड तय गरी संविधानअनुसार समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन गर्नुपर्नेमा बारको जोड छ ।

बारले माग पूरा नभएसम्म न्याय परिषद्बाट हुने कुनै पनि नियुक्ति स्वागत नगर्ने घोषणा गरेको छ । परिषद्ले बारको सरोकार बेवास्ता गरेको भन्दै यसलाई सहकार्य र पारदर्शिताको सिद्धान्तविपरीत तथा स्वेच्छाचारितालाई बढावा दिने अभ्यासको रूपमा चित्रण गरिएको छ ।

न्यायाधीशको पद, योग्यता र क्षमताका आधारमा प्रदान हुनुपर्ने भन्दै बारले न्याय सुधारका प्रतिवेदनहरू कार्यान्वयनमा जिम्मेवार पक्ष उदासीन देखिएको टिप्पणी गरेको छ ।

यी हुन् उच्चमा सिफारिस भएका २७ न्यायाधीश

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.