
धनगढी । दोहोरो झडपमा परेर बन्दीको मृत्यु भएपछि जिल्ला कारागार कैलालीलाई कैदीबन्दीले आफ्नो नियन्त्रणमा लिएका छन् ।
दोहोरो झडपमा शुक्रबार राति १ जनाको मृत्यु भएको थियो । कारागारभित्रको स्थिति नियन्त्रणभन्दा बाहिर पुगेको सुरक्षा स्रोतले बतायो । कारागारलाई कैदीबन्दीले नियन्त्रणमा लिएपछि सुरक्षाकर्मी भित्र प्रवेश गर्न सकेका छैनन् ।
सुरक्षाकर्मी प्रवेश गर्न नपाएपछि भित्रको अवस्था के कस्तो छ भनेर यकिन हुन सकेको छैन । क्षतिको पूर्ण विवरण पनि प्राप्त भएको छैन । कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेर सुरक्षाकर्मीलाई अवरोध गरिरहेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी उनीहरुले दिएका छन् ।
कैलाली कारागारको क्षमता १ सय ५० को हो । तर, कारागारमा करिब ७ सय कैदीबन्दी छन् । कारागारमा शुक्रबार राति करिब ११ बजेतिर झडप भएको थियो । झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भयो । अन्य ४७ जना कैदीबन्दी घाइते भएका छन् ।
घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीसमेत ३ जनाको अवस्था गम्भीर रहेको डीएसपी राजकुमार सिंहले बताए । उनका अनुसार कैदीबन्दीले कब्जामा लिएका कारण सुरक्षाकर्मीले कारागारभित्र प्रवेश गर्न पाइरहेका छैनन् ।
कैलाली कारागारमा केही दिनदेखि झडप भइरहेको छ । बिहीबार पनि झडप हुँदा ५ जना घाइते भएका थिए । त्यो बेलाको झडप र विवाद बढ्दै जाँदा शुक्रबार राति मानवीय क्षति नै निम्तिने घटना भयो ।
कैलाली कारागारमा कैदीबन्दीबीच विगतदेखि नै मनमुटाव र झैझगडा हुने गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी प्रमुख बाल नरसिंह राणा स्वयं कारागार पुग्ने गरेका थिए ।
उनीहरूले उक्त घटनालाई सामान्य माने । स्रोतका अनुसार शुक्रबार रातिको आक्रमणबारेको सूचना कैलालीका प्रमुख जिल्ला अधिकारी हमाललाई थियो । तर, त्यसलाई हमालले सामान्य रुपमा लिँदा मानवीय क्षति निम्तिने घटना भयो ।
यसैबीच, कैलाली कारागार घटनापछि गृहमन्त्री रमेश लेखकले छलफलका लागि सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् । शनिबार उनले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्न लागेका हुन् ।
गृहमन्त्री लेखकले अपरान्ह ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ । छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेलगायत सहभागी हुने बताइएको छ ।

























