
विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलमा बस र विङ्गर माइक्रो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो एकआपसमा ठोक्किएर सोमबार बिहान ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले बताए ।
उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । विराटनगर र सुनसरीका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको श्रेष्ठले बताए । बसका चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विङ्गर चालक घाइते छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनालगायत सुरक्षा अधिकारी घटनास्थलमा पुगेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























