
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको रिहाइसम्बन्धी निवेदनको पेसी आज (सोमबार) रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले धरौटीबापत १ करोड रुपैयाँ तिर्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत तुलसीपुर, बुटवल इजलास पुगेका थिए ।
उच्च अदालतले गत वर्ष चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी भैरहवा कारागारमा रहेका छन् । उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा ७३ नम्बरको पुनरावेदन निवेदन दिएका थिए ।
तर, सर्वोच्चले पनि उच्चको आदेश सदर गरेको थियो । हाल उनले पुनः जिल्ला अदालतमा सहकारी ऐन, २०७४ को दफा १३१ (क) बमोजिम बिगो तिरेर साधारण तारेखमा रिहाइको माग गर्दै निवेदन दर्ता गराएका छन् ।
उनको निवेदनमा सहकारी ऐनको सो प्रावधान आफ्नो हकमा नपर्ने भए पनि बिगोका लागि २ करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरिसकेको उल्लेख गरिएको छ । अदालतले पेसी सुनुवाइपछि लामिछानेलाई साधारण तारेखमा रिहा गर्ने वा थुनामै राख्ने बारे निर्णय गर्नेछ ।

























