
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै दिएको निवेदनमाथि रुपन्देही जिल्ला अदालतमा बहस सकिएको छ।
सोमाबार (आज) न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा भएको सुनुवाइपछि आदेश लेखनको काम भइरहेकाले आजै फैसला आउन सक्ने सम्भावना रहेको अदालतले जनाएको छ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागमा लगाइएको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत राखेर थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् ।
गत साउन १९ गते अदालतमा निवेदन दिँदै उनले आफू सहकारी ठगीमा संलग्न नभएको तर बचतकर्ताको रकम फिर्ताको सुनिश्चितताका लागि सहयोग गर्न तयार रहेको जिकिर गरेका थिए।
यसअघि जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
तर, सरकारी वकिलको कार्यालयले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएपछि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरेपछि उनी निरन्तर थुनामा रहेका छन् । लामिछानेले आफूविरुद्धको अभियोग राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आएका छन्।

























