
पर्सा । पर्साको ठोरी गाउँपालिका–२ हनुमाननगरमा रहेको डेढु खोलाको खाल्डोमा डुबेर एकै परिवारका नाबालक दाजु–भाइको मृत्यु भएको छ ।
मनोजय कठायतका छोराहरू ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ । नाबालकहरु विद्यालय जानुअघि मंगलबार बिहान करिब १ सय ५० मिटर टाढाको डेढु खोलामा नुहाउन गएका थिए ।
उनीहरु नुहाउनलाई डोजरले खनेको खाल्डोमा जमेको पानीमा पसेका थिए । पानीको गहिराइ थाहा नपाई पसेका उनीहरूको त्यही खाल्डोमा डुबेर मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले बताए ।
दुवै बालक पानीमा तैरिरहेको अवस्थामा देखिएपछि स्थानीयले तत्काल उद्धार गरी ठोरीस्थित अस्पतालमा पुर्याएका थिए । अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका हुन् ।
शवलाई पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए ।

























