मल व्यवस्थापनको नयाँ योजना ३ दिनभित्र ल्याउन प्रधानमन्त्रीको निर्देशन

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २७, मंगलबार १७:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कृषि क्षेत्रलाई समृद्ध बनाउने हेतुले कृषि मल व्यवस्थापनमा क्रान्तिकारी कदम चाल्नका लागि ३ दिनभित्र ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा मंगलबार कृषि तथा उद्योग मन्त्री र सम्बन्धित अधिकारीहरूसँग भएको छलफलपछि प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्ति चुस्त र दुरुस्त बनाउने, कम्पोष्ट र आर्ग्यानिक मल उत्पादन प्रवर्धन गर्ने तथा माटोको उर्वराशीलता संरक्षण गर्ने कारखाना नेपालमै खोल्ने विषयमा अध्ययनको खाका तयार गर्न निर्देशन दिए ।

ओलीले रासायनिक मल व्यवस्थापनका लागि नयाँ ढाँचासहितको योजना तयार गरी तत्काल लागू गर्नुपर्नेमा जोड दिए । साथै, कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगलाई व्यापक बनाउन राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्न र अनुदान नीतिको प्रस्ताव ल्याउन उनले निर्देशन दिएका छन् ।

यसले कृषकहरूलाई गुणस्तरीय मल उपलब्ध गराउने र जैविक कृषि प्रवर्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । माटोको उर्वराशीलता जोगाउन नयाँ प्रविधि र पूर्वाधार विकासमा जोड दिँदै, रासायनिक मल कारखाना नेपालमै स्थापना गर्न आवश्यक अध्ययन गर्ने प्रस्ताव प्रधानमन्त्रीले सम्बन्धित निकायलाई पठाएका छन् ।

यसले कृषि उत्पादन बढाउन र विदेशी मलमा निर्भरता घटाउन ठूलो मद्दत गर्नेछ । कृषि क्षेत्रलाई आत्मनिर्भर र आधुनिक बनाउने प्रधानमन्त्रीको यो निर्देशनले आगामी दिनमा देशको खाद्य सुरक्षा र ग्रामीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.