
विराटनगर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा पुनः जोडिएको मोडुलरब्रिज (पुल) सञ्चालनमा आउन अझै एक साता लाग्ने भएको छ ।
७० मिटर लामो मोडुलरब्रिज दोस्रो प्रयासमा जडान सफल भएको र अब केही काम अझै बाँकी रहेकाले पुल सञ्चालनमा आउन केही समय लाग्ने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए ।
यसअघि ३१ जेठमा जडानको अन्तिम चरणमा पुल भाँचिदा ३ जनाको मृत्यु हुनुको साथै ३ जना घाइते भएका थिए ।
योपटक भारतीय प्रावधिकले पुल जडान गरेका हुन् । लङचिङ किड्ससहित भारतीय प्राविधक, मजदुर जडान कार्यमा खटिएका थिए ।
भारतीले मोडुलरब्रिज उपलब्ध गराएपछि नेपाल सरकारले जडान अगाडि बढाएको थियो । दुवैतर्फको सडक मर्मत र पुलछेउमा ढलाइ गरेपछि गाडी सञ्चालमा ल्याइने बताइएको छ ।
पुल बनाउन लागि ३ करोड ५० लाखमा ठेक्का लगाइएको थियो । २०८० असारमा पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । उक्त बेलिब्रिज पनि २०८१ असोजको बाढीले बगाएपछि मोडुलरब्रिज जडान गर्ने काम अघि बढाइएको थियो ।

























