
विराटनगर । जंगली च्याउको तरकारी खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषालु जंगली च्याउको तरकारी खाँदा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा बिरामी परेका हुन् ।
बिरामी मध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । बाँकी ५ जना बिरामीको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको छ ।
सदा परिवारले मंगलबार बिहान घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारीसँग खाना खाएका थिए । त्यसपछि उनीहरूलाई बान्ता हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो ।
चौदण्डीगढी नगरपालिकाका ९ का वडाध्यक्ष अध्यक्ष प्रकाश राउतले आर्थिक अवस्था कमजोर रहेका सदा परिवारको नगरपालिकाले निःशुल्क उपचार गर्ने बताए ।

























