
विराटनगर । इलाम जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा बुधबार दिउँसो पहिरोमा पुरिँदा १ जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका करिब ६० वर्षीय वीरबहादुर राई रहेका छन् ।
इलाम प्रहरीले दिएको जानकारीअनुसार कान कम सुन्ने र अविवाहित रहेका राई दिउँसो करिब १२ः३० बजे घरबाट पैदल हिँड्दै पश्चिमतर्फ जाँदै थिए । घरबाट करिब ३ सय मिटर टाढा पुगेका बेला नजिकैको खोल्साबाट अचानक लेदो र ढुंगामाटोसहितको पहिरो खसेको थियो ।
सोही पहिरोले पुरिएर राईको घटनास्थलमै मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी किटेनीमा पुग्नासाथ तत्काल प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट इन्स्पेक्टरको टोली खटिएको इलाम प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

























