
विराटनगर । विराटनगरमा यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री वृद्धको मृत्यु भएको छ ।
कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ पिपल चोकमा बुधबार दिउँसो २ः५० बजेतिर दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७०५ नम्बरको बसले पैदलयात्री विराटनगर–५ का ९२ वर्षीय दिलबहादुर खत्रीलाई ठक्कर दिएको थियो ।
सडक पार गर्दै गर्दा बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम लगियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी इन्स्पेक्टर लम्सालले दिए ।
बस र चालक पाँचथरको रानीगाउँका ४४ वर्षीय टेकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

























