
विराटनगर । सुनसरीको दुहबीमा निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र मृत भेटिएका ठेकेदार र कामदारको शवलाई धरान लगिएको छ ।
दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको ‘सेफ्टी ट्यांकी’भित्र बुधबार बिहान १० बजेतिर २ जनाको शव फेला परेको थियो । ‘सेफ्टी ट्यांकी’भित्र मृत फेला परेका दुहवी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार मृत फेला परेका तामाङ उक्त घर बनाउने पेटी ठेकेदार र राई कामदार हुन् । तत्काललाई हेर्दा दुवै जनाको शरीरमा चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । ‘घटना शंकास्पद देखिएको छैन । तर, एकै ठाउँमा २ जनाको शव फेला परेका कारण विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ खतिवडाले भने ।
‘सेफ्टी ट्यांकी’ काम गर्ने क्रममा अक्सिजन अपुग भएर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । ‘अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्छ । वा मृत्युको कुनै कारण छ कि भन्ने बारेमा विस्तृत अनुसन्धानपछि मात्रै पत्ता लाग्छ,’ प्रहरी स्रोतले भन्यो ।
‘सेफ्टी ट्यांकी’भित्र २ जनाका शव रहेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय दुहबीबाट इन्स्पेक्टर सागर तिमिल्सिना नेतृत्वको टोली घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धानका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक विज्ञसहितको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल इलाका प्रहरी कार्यालय दुहबीबाट करिब २ किलोमिटर पूर्वमा पर्छ । प्रहरीले अनुसन्धानपछि मात्रै उनीहरुको हत्या भएको हो कि वा मृत्युको अरु कुनै कारण छ भन्ने बारेमा यकिन हुने जनाएको छ ।
सुनसरीको दुहबीमा निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र भेटियो ठेकेदार र कामदारको शव

























