
विराटनगर । मोरङ र सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडी–रमिते भित्री सडक खण्डमा मे २ प ९०९७ नम्बरको मोटरसाइकल शनिबार दिउँसो ४ बजेतिर दुर्घटनामा परेको हो । रमितेबाट टाँडीतर्फ आउँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको थियो ।
सडकबाट खसेर पिठारीको रुखमा मोटरसाइकल ठोक्किँदा चालक मोरङको उर्लाबारी नगरपालिका–४ का १७ वर्षीय आरब डाँगीको मृत्यु भएको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार गम्भीर घाइते भएका डाँगीलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याउनसाथ चिकित्सकले दिउँसो ४ः५० बजेतिर मृत घोषित गरेका हुन् ।
दुर्घटनामा उर्लाबारी–४ का १७ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन् । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुनसरी रामधुनी नगरपालिका–८ डुम्राहामा ४ जना सवार रहेको को ३८ प १६३६ नम्बरको मोटरसाइकल शनिबार दिउँसो ३ः३० बजेतिर दुर्घटनामा परेको छ । इनरुवाबाट डुम्राहातर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा पर्दा पछाडि सवार रामधुनी–८ का २१ वर्षीय आनन्द सिंह खवासको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका खवासलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ दिउँसो ४ः२२ बजेतिर चिकित्सकले मृत घोषित गरेका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक रामधुनी–८ का २२ वर्षीय मुकेश साह, २२ वर्षीय दीपनारायण चौधरी र रामधुनी–९ का २८ वर्षीय अभिषेक सिंह घाइते भएका छन् । उपचाररत उनीहरु सबै जनाको अवस्था सामान्य रहेको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार ट्राफिक नियमको उल्लंघन गरेर एकैपटक ४ जना चढ्दा मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























