
विराटनगर । विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने तयारी भइरहेका बेला प्रहरीले आइतबार दिउँसो ५ जनालाई नियन्त्रणमा लिएको छ ।
शंकास्पद गतिविधि गर्दै गरेको अवस्थामा २ जना महिला र ३ जना पुरुषलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार नियन्त्रणमा लिइएकाहरु सबै भारतीय हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर सोधपुछ गर्ने काम भइरहेको छ । डीएसपी चुँडालले विराटनगरको सेन्ट्रल मल नजिकबाट ३ जना र महेन्द्र चोकबाट २ जनालाई नियन्त्रणमा लिइएको बताइन् ।
‘रथयात्राको भिडभाडका बेला चोरी र पकेटमारी गर्ने उद्देश्यले नेपाल आएको देखिन्छ । शंकास्पद अवस्थामा फेला पारेर नै नियन्त्रणमा लिइएको हो,’ प्रहरी स्रोतले भन्यो ।
डीएसपी चुँडालका अनुसार हजारौं भक्तजन सहभागी हुने रथयात्रालाई लक्षित गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘ड्रोन, सीसी क्यामेराजस्ता प्रविधिको प्रयोग गरेर सबैतिर निगरानी बढाइएको छ । शंकास्पद व्यक्तिहरु प्रहरीको निगरानीमा छन् । ठूलो संख्यामा हतियारसहित र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । रथयात्राको सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ,’ उनले भनिन् ।
रथयात्रामा सहभागी हुँदा बहुमूल्य गरगहना नलगाउन तथा कोही कसैले शंकास्पद गतिविधि गरिरहेको देखेमा प्रहरीलाई खबर गर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । रथयात्रालाई लक्षित गरेर विराटनगरमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यसैबीच, विराटनगरको ऐतिहासिक रथयात्रा अबको केही बेरमा सुरु हुँदैछ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे निकालिने रथले नगरको विभिन्न भागको परिक्रमा गर्ने छ ।
अहिले मन्दिरको गेटबाट बाहिर निकालेर रथलाई सजाउने काम भइरहेको छ । अब पुरोहितले वैदिक विधिअनुसार पूजा गर्ने र राधाकृष्णको युगल जोडीको प्रतीमा राखेर रथलाई नगर परिक्रमा गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अनुसार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूजाआराधना गरेपछि रथयात्रा सुरु हुने छ । यसपटक रथयात्राका लागि नयाँ रथ तयार पारिएको छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकाल्ने परम्परा छ ।

























