
विराटनगर । सुनसरीको धरानमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु भएको छ । भित्री सडक खण्डअन्तर्गत धरान उपमहानगरपालिका–१ पुरानो बजारमा दुर्घटना भएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१८ प ६५२४ नम्बरको स्कुटरले ठक्कर दिँदा धरान–१ की ५८ वर्षीय सरीता विकको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार स्कुटरले आइतबार ठक्कर दिँदा गम्भीर घाइते भएकी विकको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा साँझ ७ः३० बजेतिर मृत्यु भएको हो ।
सुरुमा उनलाई उपचारका लागि धरानकै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विराट नर्सिङ होम
पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले स्कुटर र चालक सुनसरीकै इटहरी उपमहानगरपालिका–१८ का चिरञ्जीवी गुरुङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । पैदल यात्रामा रहेकी विकले अचानक बाटो काट्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























