
काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका छन् ।
जंगीअड्डा पुगेका उनले सोमबार नेपाली सेनालाई ६ वटा ‘लाइट स्ट्राइकिङ भेइकल’ उपहार दिएका हुन् । जंगीअड्डाका १ उच्च सैनिक अधिकृतका अनुसार, उक्त हस्तान्तरणको तयारी केही दिनअघि नै गरिएको थियो र विदेशसचिव आफैं उपस्थित भएर सामग्री बुझाएका हुन् ।
मिश्रीले ६ वटा सैनिक घोडा र ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर पनि नेपाली सेनालाई हस्तान्तरण गरेका छन् । त्यस्तै केही स्वास्थ्य सामग्री पनि बुझाइएको ती सैनिक अधिकारीले जानकारी दिए ।
सामग्री हस्तान्तरणअघि मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए । भेटमा २ देशबीचको सैनिक सम्बन्ध, पारस्परिक हित र सहकार्यका विषयमा छलफल भएको सैनिक स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको आधिकारिक निम्तो दिन आइतबार काठमाडौं आएका मिश्रीले त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरिसकेका छन् ।
२ दिने नेपाल भ्रमणमा आएका विदेशसचिव मिश्री सोमबार दिउँसो साढे २ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

























