निर्माण भएको १४ वर्षसम्म सञ्चालनमा आएन कोल्ड स्टोर

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ५, बिहीबार १८:००

इलाम । १४ वर्षअघि भारतको सहयोगमा इलाम सदरमुकाममा निर्माण भएको ‘नेपाल–भारत मैत्री शीतभण्डार’(कोल्ड स्टोर) अझै प्रयोगविहीन छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो शीतभण्डार प्रयोगविहीन बनेको हो ।

सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार राईले सो शीतभण्डार सञ्चालन नभएकाले उत्पादित किबी भण्डारण गरेर राख्न नसकेको गुनासो गरे ।

“सिजनमै बिक्री गरिसक्नुपर्छ, अफ सिजनमा बिक्री गर्न सके मूल्य बढी पाइने थियो,” उनले भने, “हामीले सिजनमा यताबाट सस्तोमा बेचेको किबी अफ सिजनमा भारतबाट महँगो भएर आउँछ ।”

शीतभण्डार सञ्चालन गर्न सकिएमा यहाँ उत्पादित फलफूल र तरकारीले राम्रो मूल्य पाउने उनको भनाइ छ । शीतभण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित तरकारी तथा फलफूल महँगोमा झापा, मोरङलगायतका जिल्लामा लगेर भण्डारण गर्नुपर्ने बाध्यता छ ।

आफ्नो उत्पादन सस्तोमा बेच्नुपर्दा कृषिप्रति निरुत्साहित हुने गरेको इलाम नगरपालिका–८ का किसान उमेशचन्द्र महतको गुनासो छ ।

२० लाख किलोग्राम क्षमताको शीतभण्डार निर्माण गर्दा डिजाइनमा त्रुटि भएका कारण सञ्चालन गर्न नसकिएको नगरपालिकाको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले अहिलेको प्रविधि अनुसारको संरचना नभएकाले सञ्चालन गर्न नसकिएको बताए । ‘हाम्रो शीत भण्डारको संरचना अहिलेको प्रविधि अनुसारको रहेनछ, एउटै च्याम्बरमा सबै खालका वस्तु राख्ने गरी बनाइएको रहेछ,” प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “पछिल्लो पटक निजी क्षेत्रका केही टोलीहरू हेर्न आएका थिए, तर शीत भण्डारको संरचना हेरेपछि उनीहरू त्यतिकै फर्किए ।”

५ करोड ४९ लाख ६७ हजार ६४६ लागतमा २०६८ सालमा कोल्ड स्टोर निर्माण भएको थियो । भारत सरकारको ४ करोड ३९ लाख तीन हजार ८०८, नेपाल सरकारको ६७ लाख ५८ हजार ५४६ र इलाम नगरपालिकाको ४३ लाख पाँच हजार २९२ को लागतमा सो शीतभण्डार निर्माण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.