
विराटनगर । पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्न बनेको ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ सञ्चाउन माग गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
घोषित कार्यक्रम अन्तरगत मंगलबार मुख्यमन्त्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञानपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आमसञ्चार विधेयकका विषयमा थप छलफल गर्न आवश्यक रहेको बताए । संसदभित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएको बताउँदै उनले सरोकारवाला र दलहरुसँग छलफल गरेर अगाडि बढ्ने बताए ।
पत्रकारसँग जोडिएका संघसंस्थाको चासो र सरोकार गम्भीरतापूर्वक आएकाले थप छलफल गरेरै अगाडि बढाउने उनले जानकारी दिए ।
आफू आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हुँदा बनेको संस्था बीचैमा खारेज हुँदा सरकारवालाहरू मौन रहेकाले त्यसलाई परिपूर्ति गर्न कानुन मार्फत नै प्रयत्न गरेको स्मरण गर्दै उनले प्रदेशसभामा भएको विधेयकमा देखिएका विषयलाई छलफलका माध्यमबाट समाधान गरिने बताए ।
उनले विधेयकमाथि थप छलफल गर्नुपर्ने भएकाले विधेयक पास हुनका लागि समय लाग्ने बताए । आफू प्रेस स्वतन्त्रता तथा संविधानले प्रत्याभूत गरेका अधिकारका विषयमा प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको भनाई छ ।
ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र महासचिव हिमा चेम्जोङले पत्रकारको माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

























