
विराटनगर । झापाको झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकै परिवारका चार जना घाइते भएका छन् ।
मंगलबार राति करिब साढे ८ बजे मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोकिँदा दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति करिब ८ः४० बजे भएको दुर्घटनामा मारुती भ्यानका चालक झापा शिवसताक्षी नगरपालिका– ७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र नौ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन् । उनीहरूको बीएन्डसी अस्पतालमै उपचार भइरहेको छ ।
बोलेरो चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

























