
काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले वरिष्ठताको परम्परा तोड्दै बुधबार संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलास करिब ३ महिनासम्म विवाद र गतिरोधमा परेको थियो ।
प्रधान न्यायाधीश राउतले यसपटक भने वरिष्ठताको आधारलाई बेवास्ता गर्दै परम्परा तोडेर आफूनिकट न्यायाधीशलाई प्राथमिकतामा राखी संवैधानिक इजलास गठन गरेका हुन् । संविधानको धारा १३७ ले संवैधानिक इजलास गठनको स्पष्ट प्रावधान गरेको भए पनि राउतले यसअघि गोला प्रक्रियाबाट न्यायाधीश छान्ने अडान लिँदा वरिष्ठतमसहितका बहुमत न्यायाधीशले असहमति जनाए । त्यसकै कारण लामो समयसम्म इजलास गठन हुन सकेको थिएन ।
बुधबार उनले संविधानअनुसार न्याय परिषदले सिफारिस गरेको रोष्टरभित्रबाट इजलास बनाए पनि वरिष्ठता अनुसारका न्यायाधीशलाई समावेश गर्ने चलनलाई भने तोडे । नवगठित इजलासमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल मात्रै परेकी छन् । तर, मल्लपछिका वरिष्ठ न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र कुमार चुँडाललाई बाहिर राखिएको छ ।
त्यसको सट्टा उनले पछिल्लो वरीयताका नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मालाई समावेश गरे । तिलप्रसाद र विनोद शर्मा पहिलेबाटै गोला प्रक्रियाबाट इजलास गठन हुनुपर्ने पक्षमा उनको अडानलाई समर्थन गर्दै आएका थिए ।
यद्यपि, सपना प्रधान मल्ल र नहकुल सुवेदी भने संविधानले तोकेको वरिष्ठता सिद्धान्तमै अडिग थिए । तर, राउतले नयाँ संरचना बनाएर आफू बहुमतमा रहेको सन्देश दिन खोजेको बुझिन्छ ।
संवैधानिक तथा कानुन पत्रकार मञ्चसँगको कुराकानीमा उनले संविधानले दिएको अधिकार प्रयोग गरेर इजलास गठन गरेको दाबी गरे । तर, यही मुद्दामा विगतमा न्यायाधीशको हड्ताल हुँदा राउत स्वयं वरिष्ठता सिद्धान्तको पक्षमा उभिएका थिए । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको पालामा भएको सो हड्तालकै परिणामस्वरूप वरिष्ठताको आधारमा इजलास गठन गर्ने परम्परा सुरु भएको थियो ।
गत असार १९ गते ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा अल्पमतमा परेपछि राउत असन्तुष्ट बनेको र त्यसयता संवैधानिक इजलासलाई नै अवरुद्ध गर्दै आएको बुझिन्छ । अहिले आएर उनले आफ्नै अडान विपरीत न्यायाधीश छान्ने अधिकार प्रयोग गरी गतिरोध अन्त्य गरे पनि यसले सर्वोच्चभित्रको परम्परा, न्यायिक संस्कृति र प्रधानन्यायाधीशको निष्पक्ष भूमिकामाथि फेरि गम्भीर प्रश्न खडा गरेको कानुनका विज्ञहरु बताउँछन् ।

























