
विराटनगर । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि ‘उदय’ परियोजना सुरु गरेकाे छ । स्विस सरकारको सहयोगमा कोशी प्रदेश सरकारले परियोजना सुरु गरेको हो ।
परियोजनाअन्तर्गत प्रदेश सरकार जमानी बसेर बिना धितो ३० लाखदेखि ३ करोडसम्मको कर्जा उपलब्ध गराइनेछ । जसले प्रदेशमा नयाँ रोजगारीको अवसर सृजना गर्नेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब बराबरको नवउद्यमी कर्जाका लागि ज्ञारेन्टी गर्ने सरकारको तयारी छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक उदय परियोजनालाई कोशी प्रदेशमा नमुनाका रूपमा सफल बनाएर देशव्यापी रूपमा उदारणीय बनाउने बताए । २८ करोडको च्यालेञ्ज फन्डमार्फत नव उद्यमीको प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने सरकारी लक्ष्य छ । इनफर्मेशन पोर्टलमार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ ।
परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको प्रदेश सरकारले जनाएको छ । परियोजनालाई प्रदेश सरकारले प्रदेशका १४ वटा जिल्लामा पुर्याउने लक्ष्य राखेको छ ।
पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा ३ हजार रोजगारी सिर्जना हुनेछ । परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले परियोजना १० वर्षसम्म सञ्चालन गर्ने तयार रहेको बताए ।
उदय परियोजनाका टिम लिडर अरुण राणाले यो परियोजना मार्फत नयाँ उद्दम गर्न चाहने र उद्यम गरिरहेकाहरूलाई सहज हुने बताए । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले परियोजनाबाट कोशी प्रदेशको आर्थिक विकासलाई सहज हुने बताए ।

























