
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आइतबार आर्थिक वर्ष २०८२–०८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताका बुँदामा आधारित रहेर चालु आर्थिक वर्षका लागि हस्ताक्षर भएको हो । डीआईजी कार्की र कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा सुनसरी, विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूले वार्षिक लक्ष्य, कार्ययोजना र उपलब्धिमूलक प्रहरी सेवा प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धतासहित सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र, कोशी प्रदेश सशस्त्र प्रहरी गण, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुरका प्रहरी प्रमुखहरूसहभागी थिए ।
अन्य जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति थियो । डीआईजी कार्कीले प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउन, योजना र कार्यक्रम समयमै कार्यान्वयन गर्न तथा आमनागरिकले प्रत्यक्ष अनुभव गर्नेगरी सेवा प्रदान गर्न कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
सम्झौताको सफल कार्यान्वयनका लागि उल्लेख भएका बुँदाहरुका आधारमा कार्यसम्पादन गर्न प्रहरी कार्यालयहरूलाई उनले निर्देशनसमेत दिए । कार्यसम्पादन सम्झौता कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेललगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सम्झौता बमोजिम कार्यालय प्रमुखहरूले गरेका कार्यहरूको प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा कोशी प्रदेश प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

























