बालकृष्ण खाण (बीचमा)काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणको अन्तिम सुनुवाइ आज (बुधबार)देखि सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ । यो प्रकरणमा हालसम्म ३३ जना प्रतिवादी रहेका छन् ।
अनुसन्धान अनुसार २०७६ जेठ ३० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको पालामा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि कार्यदल गठन भएको थियो । उक्त कार्यदलमा गणेशबहादुर केसी विज्ञ र दीपकप्रसाद न्यौपाने सदस्यसचिव थिए । तर, गठन हुँदै गर्दा नै ठगीको प्रक्रिया सुरु भएको अनुसन्धानबाट खुलेको छ ।
कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको नाम समेत समावेश गरेर अमेरिकामा पठाउने भन्दै रकम असुलिएको थियो । यो काम तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको अनुसन्धानले देखाएको छ ।
भुटानी शरणार्थी ठगी प्रकरणको उजुरी परेको केही दिनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । यस क्रममा उच्च प्रोफाइलका व्यक्तिहरु पनि संलग्न भएको पत्ता लागेको छ । अभियुक्तविरुद्ध ठगी, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको थियो ।
पहिलो चरणमा १ सय १३ जना पीडितबाट परेका जाहेरीको आधारमा ३० जनाविरुद्ध २०८० जेठ १० गते मुद्दा दर्ता भएको थियो । त्यसबेला २८ करोड १ लाख ७४ हजार ५ सय बिगो माग गरिएको थियो ।
पछि पूरक जाहेरी पर्न थालेपछि १८ जनाबाट ५ वटा नयाँ जाहेरी दर्ता भएका थिए । त्यसअन्तर्गत आङटावा शेर्पा, सागर राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, रामशरण केसी, गोकुल थापा र उनकी पत्नी रमा थापाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
यस चरणमा २ करोड १७ लाख ९२ हजार बिगो कायम गरिएको थियो । पहिलो र दोस्रो चरणका प्रतिवादीहरूलाई मिलाएर संख्या ३२ पुगेको थियो । पछि २०८१ असारमा बेचन झा पक्राउ परेपछि कुल ३३ प्रतिवादी पुगेका हुन् ।
फरार प्रतिवादीमा गृहमन्त्रीका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई, झापाका सुनील बुढाथोकी, रौतहटका निरन्जन खरेल, मोरङकी विनिता सावदेन लिम्बू, केशव दुलालकी श्रीमती दीपा हुमागाईं, मिक्लाजुङका मोहनराज राई, गोकुल र रमा थापा, काठमाडौंका राजेश अर्याल, मोरङका धीरेन राई र अमेरिका बस्ने अशोक पोखरेल रहेका छन् ।
३३ मध्ये २२ जना प्रतिवादी पक्राउ परेका छन्। जसमध्ये ११ जना कारागारमा छन् । यसमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता टोबहादुर रायमाझी, तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, बादलका छोरा प्रतिक, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी, सागर राई र बेचन झा समावेश छन् ।
७ जना धरौटीमा रिहा भएर कारागार बाहिर छन् । उनीहरूमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पीए नरेन्द्र केसी, हरिभक्त महर्जन, हज कमिटी अध्यक्ष शमशेर मियाँ, टोपबहादुर रायमाझीका छोरा सन्दीप, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र रामशरण केसी छन् । साधारण तारेखमा लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधर रिहा भएका थिए ।

























