
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ । सरकारसँग सम्पर्क गरेर मेटाले फेसबुक दर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण मागेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयका अनुसार मेटाको सिंगापुरमा कार्यरत १ जना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीसँग सम्पर्क गरेका हुन् । ती कर्मचारीले पराजुलीसँग दर्ता तथा सूचीकरणका लागि आवश्यक कागजात र प्रक्रिया सम्बन्धी जानकारी मागेका थिए ।
मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्र ठाकुरले भने, ‘मेटाको सिंगापुरस्थित कर्मचारीले मन्त्रीज्यूको पीएसँग सम्पर्क गरेर दर्ता प्रक्रिया सम्बन्धी कागजात र विवरण सोध्नुभएको रहेछ । हामीले मन्त्रालयको अनुमति अनुसार ५ मिनेटमै आवश्यक विवरण इमेल मार्फत पठाइसकेका छौं ।’
ठाकुरका अनुसार मन्त्रालयले बिहीबार साँझ ५ बजे इमेल पठाएको हो । अब फेसबुकको दर्ता प्रक्रिया अघि बढाउन मेटाले प्राप्त विवरणको आधारमा काम सुरु गर्नेछ ।

























