
विराटनगर । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार देशव्यापी रुपमा सडकमा उत्रिएका युवापुस्तामाथि प्रहरीले अत्याधिक बल प्रयोग गरेको छ ।
काठमाडौंसहित विराटनगर, पोखरा, नेपालगञ्ज, धरान, दमक, इटहरीलगायतका सहरमा जेनजी पुस्ताले प्रदर्शन गरेपछि प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र गोली प्रहार गरेको हो । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरसहित देशव्यापी प्रदर्शनमा उत्रिएका युवापुस्तामाथि प्रहरीले बल प्रयोग गरेको छ ।
विराटनगरमा प्रदर्शनका क्रममा युवापुस्ताले ‘हामीलाई दलाल होइन, सरकार चाहिन्छ’ भन्दै प्रदर्शन गरे । सरकारको खोजी गर्दै आन्दोलनमा उत्रिएका युवाले भ्रष्टाचार अन्त्यको माग गरे ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरे । युवापुस्ताले सामाजिक सञ्जाल खुला गर्न माग गरेका छन् ।
नेताका सन्तानले विलासी जीवन बिताएको प्रति प्रश्न गर्दै युवाहरुले भ्रष्टाचार नियन्त्रणको माग गरेका हुन् । उनीहरुले देशमै बसेर काम गर्ने वातावरण बनाउन पनि माग गरे । तर, प्रहरीले प्रदर्शनमाथि अत्याधिक बल प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गर्दा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ । सयौं घाइते छन् ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । नेताका सन्तानहरुले विलासी जीवन बिताएको आरोप लगाएका युवाले सामान्य जनतालाई भने रोजगारी र सुरक्षाबाट वञ्चित गराइएको भन्दै प्रश्न उठाए ।
प्रदर्शनकारीले भ्रष्टाचार अन्त्य, सुशासन स्थापनासहित सामाजिक सञ्जाल तुरुन्त खोल्न माग गरेका थिए । उनीहरुले सामाजिक सञ्जाल बन्द गरेर सरकार नागरिकलाई नियन्त्रण गर्ने प्रयासमा लागेको भन्दै खुलेआम प्रतिरोध गरे । साथै, देशमै रोजगारी र इमान्दार राजनीतिक नेतृत्व चाहिने माग गर्दै उनीहरुले ‘जेनजी खोज्छ सरकार’ भन्ने नारासमेत बुलन्द पारे ।
तर, सरकारले प्रदर्शनलाई दमन गर्न सुरक्षा निकाय परिचालन गरेको थियो । बिहानैदेखि विभिन्न ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । आन्दोलन उग्र बनेपछि सुरक्षा निकाय बाध्य भएर कारबाहीमा उत्रिएको दाबी सरकारले गरेको छ । यद्यपि, नागरिक समाज र अधिकारकर्मीहरुले शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमनलाई लोकतान्त्रिक मूल्यविपरीत भन्दै सरकारको आलोचना गरेका छन् ।
देशभर फैलिएर गएको युवा आन्दोलनलाई थप कडा बनाउन प्रहरीको बल प्रयोगले भूमिका खेलेको देखिएको छ । विराटनगरदेखि काठमाडौंसम्मका सडकहरुमा युवाहरुको भिड बाक्लिएको छ भने त्यसलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जेनजी पुस्ताले भने आन्दोलन शान्तिपूर्ण हुने बताएको थियो । तर, हिंसात्मक बन्यो । आन्दोलनकारीहरु तोडफोड र ढुंगामुढामा उत्रिए । संघीय संसद भवनसमेत छिरे । जेनजी पुस्ताले आफूहरुको आन्दोलनमा घुसपैठ भएको बताएको छ ।

























