
विराटनगर । विराटनगरमा सोमबार साँझ टिपरको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ । दुर्घटनालगत्तै आक्रोशित भिडले टिपरमा आगजनी गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको को २७ प ८५३४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार विराटनगर महानगरपालिका–२ तीनपैनीमा दुर्घटना हुँदा स्कुटर चालक मोरङको कटहरी गाउँपालिका–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झाको घटनास्थलमै मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको टिपरले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए । आक्रोशित भिडले टिपरमा आगजनीसमेत गरेको छ । आगोले टिपरको अगाडिको भाग जलेको छ ।
प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएका कारण टिपर पूर्णरूपमा जल्न पाएन । टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।






















